
खुला पत्र: निर्मला पन्त प्रकरणमा न्यायको माग
श्री रमेश लेखकज्यू
माननीय गृहमन्त्री
नेपाल सरकार
विषय: १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा न्यायको माग
माननीय गृहमन्त्रीज्यू,
विनम्र अभिवादन!
मैले यो पत्र लेख्नको कारण कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको दर्दनाक घटनामा न्यायको माग गर्नु हो। २०७५ साउन १० गते घटेको यो दर्दनाक घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। निर्मला पन्तको शव भोलिपल्ट सालघारीको खोला किनारमा उखुबारीमा फेला परेको थियो, जसले सम्पूर्ण समाजलाई पीडा र त्रासमा पार्यो।
यस घटनापछि दोषीलाई कारबाहीको माग गर्दै लामो समयसम्म आन्दोलन भयो। तर, दुःखको कुरा, सरकारले अहिलेसम्म पनि दोषीलाई पहिचान गरी न्यायको प्रक्रिया अगाडि बढाउन सकेको छैन। निर्मलाको परिवारले अब न्यायको आशा नै गुमाइसकेका छन्। तर, तपाईं कञ्चनपुरकै जनप्रतिनिधि भएकाले, स्थानीय नागरिकहरूको आशा अझै मरेको छैन।
निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भइसकेको छ, तर वास्तविक अपराधी को हुन् भन्ने अझै अज्ञात छ। विभिन्न कोणबाट भएका अनुसन्धानहरूबाट पनि ठोस नतिजा देख्न पाइएन। यस घटनाको पीडामा परेका परिवारजनहरू न्यायको प्रतिक्षामा छन्।
माननीय गृहमन्त्रीज्यू, तपाईंले गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि यो मुद्दालाई प्राथमिकतामा राखेर न्यायको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता देखाउनुभएको छ। हामी आशा गर्छौं कि तपाईंसँग अहिलेको सरकारले यो प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउने छ।
निर्मला पन्तको लागि न्यायको यो बाटो सजिलो छैन, तर हामीले न्यायका लागि निरन्तर आवाज उठाउँदै जानेछौं। तपाईंको प्रतिवद्धता र कदमले सम्पूर्ण देशलाई न्यायको प्रत्याभूति दिलाउन सक्ने विश्वास छ।
सादर,
रमेश सिलवाल
अध्यक्ष, चिल्ड्रेन भिजन नेपाल